एन्फा एकेडेमी क्वार्टरफाइनलमा

भोजपुर, ११ चैत । एन्फा एकेडेमी काठमाडौं सशस्त्र प्रहरी बल झापालाई पराजित गर्दै शनिबार अन्तर्राष्ट्रिय आमन्त्रण भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । भोजपुर सदरमुकामस्थित टुँडिखेलमा भएको खेलमा एन्फा एकेडेमीले सशस्त्र प्रहरी टोलीलाई १ का विरुद्ध २ गोलले पराजित गरेको हो ।
एन्फा एकेडेमीमा तालिमप्राप्त एकेडेमी टोलीले सशस्त्र प्रहरीलाई ९० मिनेटको समयावधिभर दबाबमा राखेको थियो । एन्फालाई जिताउने क्रममा दुवै गोल जर्सी नम्बर ११ का हेमन्त गुरुङले गरेका थिए ।
आफ्नो टिमलाई जित दिलाउने क्रममा हेमन्तले खेल सुरु भएको सातौं मिनेटमा पहिलो गोल गरेका थिए । खेललाई १-० ले अघि बढाएपछि एन्फाले खेललाई एकपक्षीय रूपमा अघि बढाएको थियो ।
पहिलो हाफको पूर्वार्द्धको ३७ औं मिनेटमा एपिएफको रक्षापङ्क्तिको कमजोरीको फाइदा उठाउँदै एन्फाका हेमन्तले सहजरूपमा दोस्रो गोल गर्दै टिमलाई २-० को अवस्थामा पुर्‍याउँदै खेललाई एकपक्षीय बनाएका थिए ।
एपिएफका जर्सी नम्बर १३ का जिरालाल चौधरीले आफ्नो टिमलाई खेलमा फर्काउने प्रयास गर्दै दोस्रो हाफको नवौं मिनेटमा गोल गरेका थिए ।
शनिबारको खेलका म्यान अफ द म्याच एन्फा एकेडेमीका हेमन्त भए । यसअघि पहिलो दिन शुक्रबार भएको खेलमा पूर्वविजेता राष्ट्रिय जागृति युवा क्लब इटहरीलाई धनकुटा फुटबल क्लबले २ का विरुद्ध ५ गोलले पराजित गरेको थियो । धनकुटालाई जिताउने क्रममा स्ट्राइकर बर्दमान राईले ह्याटि्रक गरेका थिए । आइतबार भोजपुर गोल्डकपको सह-आयोजक द सोल्टी युनाइटेड भोजपुर र भारतको दार्जिलिङस्थित युनाइटेड खर्साङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया