धुलो र गर्मी, जोखिममा आँखा

गर्मी मौसम सुरु भइसकेको छ । काठमाडौँका सडकहरू धुलाम्मे छन् । हावाहुरीका कारण धुवाँ अनि धुलो आँखाभित्र छिरेर तिरीखिरी खेलाउँछन् । यही मौसममा तपाईं कतै आँखाको समस्याबाट पीडित हुनुभएको त छैन ? डिल सुन्निने, चिलाउने र चिप्रा लाग्ने तथा आँखा रातो हुने समस्या यो मौसममा देखिन सक्छन् । चैत महिनामा चल्ने हावाहुरीले बढाउने प्रदूषण र तापक्रममा आएको वृद्धिले आँखा पाक्ने समस्या निम्त्याइरहेको चिकित्सकले बताएका छन् ।
बिपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्र, शिक्षण अस्पतालका चिकित्सक डा आनन्दकुमार शर्माका अनुसार यति बेला एलर्जिक कन्जन्टिवाइटिसका बिरामी निकै बढिरहेका छन् । एलर्जिक कन्जन्टिवाइटिस भनेको आँखाको सबैभन्दा बाहिरी पत्र सुन्निनु र बिस्तारै पाक्दै जानु हो । आँखा पाक्ने समस्या भाइरस, ब्याक्टेरिया वा एलर्जीको कारणले हुन्छ । कन्जन्टिवाइटिसचाहिँ सौन्दर्य प्रसाधन, अत्तर, औषधि, धुलो, धुवाँ र प्रदूषणले गर्दा हुन सक्छ ।
‘उपत्यकामा उसै त प्रदूषण छ, झन् अहिले सडक फराकिलो बनाउँदा भत्काइएका बाटो पुनर्निर्माण नहुँदा अत्यधिक धुलो उड्ने गरेको छ’, डा.शर्माले भने, ‘धुलोमा आँखालाई असर गर्ने कण हुने भएकाले बिरामीको सङ्ख्या बढिरहेको छ ।’ उनका अनुसार धेरैजसो मोटरसाइकल चालक यसबाट पीडित छन् ।
त्यसो त आँखा पाक्ने रोग जुनसुकै समयमा पनि लाग्न सक्छ तर हावाहुरी चल्ने समयमा यो जोखिम झनै बढ्छ । डा.शर्माले गर्मी महिनामा पानीको माध्यमबाट भाइरस तथा ब्याक्टेरियाको सङ्क्रमण जताततै बढ्ने सम्भावना रहेकाले बढी सतर्कता अपनाउनुपर्ने बताए । भने– ‘महिला तथा बालबालिका र मोटरसाइकल चढ्ने मानिसलाई सङ्क्रमणको सम्भावना तीव्र रहेकाले यो वर्गले खास सतर्कता अपनाउनुपर्छ ।’
रोग लाग्नुभन्दा पहिला आँखा चिलाउने, आँसु आइरहने र आँखा रातो हुने लक्षण देखापर्छ । लक्षण देखिनासाथ उपचार गरे थप समस्याबाट बच्न सकिन्छ ।  ‘औषधि पसलमा गएर जथाभाबी औषधिचाहिँ हाल्न हुँदैन’, डा. शर्माले सचेत गराए ।  रातो हुने, दुख्ने तथा चिप्रा लाग्दैमा मात्रै आँखा पाकेको भन्न नमिल्ने उनले बताए । ‘अरू कारणले पनि यस्तो लक्षण देखिएको हुन सक्छ । विभिन्न कारणले पाक्ने भएकाले सबै अवस्थामा एकै खालको औषधि काम लाग्दैन’, उनले भने– ‘ब्याक्टेरिया, भाइरस, एलर्जी तथा फङ्गसका कारणले पाकेको आँखाको उपचारमा छुट्टै औषधि चाहिन्छ, जुन औषधि पसलेलाई थाहा हुँदैन ।’  औषधि पसलेले सबैलाई एकैखालको औषधि दिने गरेका कारण आँखामा झन् ठूलो समस्या निम्तिने उनले देखेका छन् । ‘लामो समयसम्म कडा खालको औषधि प्रयोग भइरहेको छ र वास्तविक उपचार गरिएको रहेनछ भने आँखाको ज्योतिसमेत गुम्न सक्ने खतरा हुन्छ’ –उनले भने
कारण
चिकित्सकका अनुसार आँखा विभिन्न कारणले पाक्छ । बढीजसो चाहिँ धुलो, धुवाँ, प्रदूषण, दूषित पानी तथा सरसफाइको कमी, भाइरस, ब्याक्टेरिया र फङ्गसका कारणले नै हो । यसबाहेक गलत औषधिको प्रयोग, रासायनिक पदार्थसँगको संसर्ग, विषालु कीराको टोकाइ तथा सौन्दर्य प्रसाधन, अत्तर र अन्य औषधिको साइड इफेक्ट पनि अन्य कारण हुन सक्छन् । डा शर्माका अनुसार भाइरस वा ब्याक्टेरियाबाट हुने यो रोग एकजनालाई हुनासाथ पूरा परिवारमा फैलिने जोखिम अत्यधिक हुन्छ । त्यसैले यस्ता बिरामीले सार्वजनिक स्थल, भिडभाड, विद्यालय, कलेज तथा मानिसको जमघटमा नजानु राम्रो हुन्छ । एलर्जीबाट हुने सङ्क्रमणमा भने यो सम्भावना कम हुन्छ ।
सतर्कता
सरसफाइको कमी तथा प्रदूषण र दूषित पानीका कारण आँखा पाक्ने भएकाले व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ । धुलो, धुवाँबाट आउनासाथ सफा पानीले आँखा पखाल्नुपर्छ । आँखा बिझाउने, रातो हुने, आँसु आउने, कचेरा निस्किने, आँखाको कोस सुन्निने, उज्यालोमा हेर्न अप्ठ्यारो हुने र सामान्य ज्वरोसमेत आउने लक्षण देख्नासाथ चिकित्सककामा गइहाल्नुपर्छ ।
पाकेका बेला चिलायो भन्दैमा आँखा माड्न हुँदैन । यस बेला सफा रुमालको प्रयोग गर्नुपर्ने, कालो चस्मा लगाउनुपर्ने डा. शर्माले बताए । ‘यो मौसममा विशेष गरी मोटरसाइकल चढ्नेले भाइजर चस्मा अनिवार्य लगाउनुपर्छ, सकेसम्म धुलो–धुवाँ हुने ठाउँमा जानु हुँदैन । जानै परे आँखा जोगाउने उपाय गरेर मात्र जानुपर्छ’ –उनले भने ।

प्रतिक्रिया