लोकतान्त्रिकका मन्त्रीहरू राजीनामाको मुडमा

काठमाडौँ, ५ चैत । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का तर्फबाट सरकारमा सहभागी केही मन्त्री राजीनामा दिने मनस्थितिमा पुगेका छन् । आइतबार बसेको पार्टीको संसदीय दलको बैठकमा उनीहरूले सरकारमा बसेर काम गर्न अप्ठ्यारो पारिएको गुनासो गर्दै आफूहरू राजीनामा दिन तयार रहेको बताएका हुन् ।
‘हामीलाई काम गर्न अप्ठ्यारो पारिएको छ, तपाईंहरू खाली काम भएन मात्रै भन्नुहुन्छ,’ दलका सचेतक ओमप्रकाश यादवले वनमन्त्री मोहम्मद वकिल मुसलमानको भनाइ उद्धृत गर्दै सौर्यसँग भने, ‘पार्टीले भन्छ भने हामी जतिबेला पनि राजीनामा दिन तयार छौँ ।’ बैठकमा वन राज्यमन्त्री लक्ष्मण महतो र रक्षा राज्यमन्त्री रामवच्चन अहिरले पनि मन्त्री मुसलमानको भनाइमा समर्थन जनाएका थिए ।
उनीहरूले पार्टी र कार्यकर्ताको अपेक्षाअनुसार आफूहरूले काम गर्न नसकेको स्वीकार गरेका थिए । माओवादी नेतृत्वको सरकार गठनका क्रममा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले चारबुँदे सहमति कार्यान्वयन नभएकोमा उनीहरूले माओवादीप्रति आपत्ति जनाए । स्रोतका अनुसार मन्त्रीहरूले सरकारको नेतृत्व गरिरहेको दल माओवादी र प्रधानमन्त्री डा. बाबुराम भट्टराई सहमति कार्यान्वयन गराउन गम्भीर नभएकाले आफूहरूलाई काम गर्न अप्ठ्यारो भएको बताए ।
बैठकमा मन्त्रीहरूले राजीनामा दिने कुरा राखेपछि पार्टीमा असन्तुष्ट सभासद् जिल्लिएका छन् । ‘मन्त्रीहरू आफैँले राजीनामा दिन्छौँ भनेपछि हामीले के भन्ने ? उहाँहरूले काम गर्न सक्नुभएन भन्ने हामीलाई लागेको हो,’ सचेतक यादवले भने ।
दलका नेता तथा उपप्रधान एवं गृहमन्त्री विजय गच्छदारले चारबुँदे सहमति कार्यान्वयन गराउन आफूले सक्दो प्रयास गरिरहेको बताए । बैठकमा सहभागी एक सभासद्का अनुसार मधेसका मुद्दा र सहमति कार्यान्वयनका विषयमा गच्छदारले दुई घन्टा भाषण दिएका थिए ।
दलका उपनेता शरत्सिंह भण्डारीले माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशसहितको टोलीलाई सगरमाथा चढ्न सरकारले दुई करोड रुपियाँ दिने निर्णय गरेकोमा आपत्ति जनाएका थिए । उनले मन्त्रिपरिषद्को निर्णय फिर्ता गराउन पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीले पहल गर्नुपर्ने बताए । भण्डारीको प्रस्तावमा सबै सभासद्ले सहमति जनाएका थिए ।
बैठक सोमबार पनि बस्ने दलले जनाएको छ । आइतबारको बैठकमा बोल्न नपाएका तथा असन्तुष्ट सभासद्ले सोमबारको बैठकमा आफ्नो धारणा राख्ने यादवले जानकारी दिए ।

प्रतिक्रिया