संचारकर्मीहरु काठ तस्करहरुको नियन्त्रणमा

कैलाली, २ चैत्र ।     समाचार संङकलन गर्न गएका संचारकर्मीहरु डोटीको बर्छैन–४ खरहरमा काठ तस्करहरुले दुई घण्टा नियन्त्रणमा लिएर छोडेका छन् । व्यापक वन फडानी भइरहेको सूचना आएपछि कैलालीबाट सौर्य दैनिक संवाददाता लगायत तीनजना पत्रकार सो ठाउँमा गएका थिए ।

बुधबार साँझ साढे सात बजे बाटोमा हिडिरहेका नयाँ पत्रिका तथा एबीसी टेलिभिजनका श्रवण देउवा, तराई टेलिभिजनका भीम चौधरीलाई स्थानीय काठ तस्करहरुले किन आफ्नो क्षेत्रमा आएर रिपोटिङ गरेको भन्दै नियन्त्रणमा लिएका हुन् ।

करिब चालिस जनाको समूहमा रहेका उनीहरुले तथानाम गालिगलोजका साथै समाचार प्रकाशित प्रसारण गरे ज्यान लिने धम्की दिएर साढे नौ बजेतिर छोडेका थिए । उनीहरुले हात हातमा लाठी र धारिलो हतियार लिएर बन्दक बनाएका थिए ।

वन तस्करमा संलग्नहरु नवराज बिष्ट, रामबहादुर नामजाली, जंगबहादुर नामजाली, धनबहादुर बिक, बीरबहादुर नामजाली, रमेश सिमसेलीलगायतको नेतृत्वमा आएका उनीहरुले पत्रकारलाई नियन्त्रणमा लिएका थिए ।

रिहापछि पत्रकारहरुको टोली बाह्रबजे बिपीनगरस्थित इलाका प्रहरी कार्यालयको सम्पर्कमा पुगेका थिए ।

यसैबीच नेपाल पत्रकार महासंघ कैलाली शाखाले एक प्रेस बिज्ञप्ती जारी गरेर घटनामा संलग्नलाई कारवाहीको माग गरेको छ ।

प्रतिक्रिया