सोह्र दल संविधान संसोधन प्रति असहमत

काठमाडौ, ३० फागुन । मुलुकमा क्रियाशिल विभिन्न राजनीतिक पार्टी/संगठनहरुको आज बसेको बैठकले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन र तोकिएको समयमा संविधान निर्माण गर्ने सवालमा सत्तापक्ष वा प्रतिपक्षका प्रमुख राजनीतिक दलहरुले संविधानसभा कार्यतालिका अनुसार आफ्नो भूमिका निर्वाह नगरेर शान्ति र संविधानमाथि खेलवाड गरेकोमा हामी गम्भीर चिन्ता प्रकट गरेका छन् ।
सोह्रदलको काठमाडौमा बसेको बैठक पछि जारी विज्ञप्तीमा संविधान निर्माण नहुनुमा प्रमुख राजनीतिक दलहरु र विभिन्न शक्ति केन्द्रहरुको समेत षडयन्त्र रहेको प्रष्ट देखिएको आरोप लगाईएको छ । साथै बैठकले ए.ने.क.पा.-माओवादी)र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच यही फागुन २५ गते जन्मका आधारमा नागरिकता प्राप्त व्यक्तिहरुका सन्तानहरुलाई वंशजका आधारमा नागरिकता दिनका लागि संविधानमा संशोधनका लागि गरिएको सहमति प्रति पनि असहमति जनाएको छ । राज्य पुनर्संरचना आयोगले ल्याएको जातीय राज्य, आत्मनिर्णयको अधिकार, बहुराष्ट्रवाद जस्ता विभाजन तथा विघटनकारी अवधारणा सहितको प्रतिवेदनको विरोध जनउादै कुनै पनि हालतमा जातीय आधारमा प्रदेश निर्माण गर्न र अहिलेको जिल्ला वा क्षेत्रको संरचनालाई स्थानीय जनताको इच्छा विपरीत विभाजन नगर्न समेत माग गरिएको छ ।
त्यसैगरी सरकारले संविधानतः सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरी विगत द्वन्द्वकालका राजनीतिक मुद्दाहरु फर्सोट गर्ने संवैधानिक बाटो नपअनाई गम्भीर अपराधमा समेत संलग्न व्यक्तिहरुको मुद्दा फिर्ता लिने कार्य गरेकोमा त्यसको तीव्र विरोध गर्दै तत्काल उक्त निर्णय फिर्ता लिन माग समेत माग गरेको छ ।
यसरी संयुक्त प्रेस विज्ञप्तीमा हस्ताक्षर गर्नेहरुमा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिहं, नेकपा -माले)का कपिल पोखरेल, सन्त बहादुर नेपाली, राष्ट्रिय जनमोर्चा, साध्यबहादुर भण्डारी जनमोर्चा नेपाल, गम्भीरबहादुर कार्की, महासचिव, नेकपा -माक्सवादी), लोकनारायण सुवेदी अध्यक्ष संयुक्त माक्सवादी, प्रकाश अधिकारी महासचिव नेकपा -संयुक्त माक्सवादी) लगायतका राजनीतिक पार्टी/संगठनहरुले हस्ताक्षर गरेका छन ।

प्रतिक्रिया