उपत्यकाका तीनै जिल्लामा एसएसपी प्रमुख हुने

काठमाडौँ, २९ फागुन । प्रहरी प्रधान कार्यालयले उपत्यकाका तीनवटै जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर)मा एसएसपीको नयाँ दरबन्दी थप गर्ने मागसहितको पत्र गृह मन्त्रालयमा पेस गरेको छ । उपत्यकाको सुरक्षा व्यवस्थालाई सुदृढ तुल्याउन यस्तो प्रस्ताव गरिएको प्रधान कार्यालय स्रोतले जनाएको छ ।
प्रस्ताव स्वीकृत भए अब काठमाडौँ, भक्तपुर र ललितपुरमा प्रहरी परिसर प्रमुख एसएसपी हुनेछन् । ‘उपत्यकामा जनसङ्ख्याको बढ्दो चाप र दैनिक बढ्दै गएको सङ्गठित अपराधलाई नियन्त्रण गर्न एसपीको कमान्ड मात्रै पुग्दो नदेखिएकाले यस्तो गर्न लागिएको हो,’ स्रोतले भन्यो ।
कार्यालय प्रमुख एसएसपी रहने भए पनि तत्कालका लागि एसपीको दरबन्दी भने थप नगरिएको स्रोतको भनाइ छ । सामान्यतः कार्यालय प्रमुख एसएसपी भएपछि एसपीको सङ्ख्या एकभन्दा बढी हुनुपर्छ । ‘विशेष परिस्थिति भएकाले कार्यालयमा एसपीको नयाँ दरबन्दी खुला गरिएको छैन,’ स्रोतले भन्यो । तीनवटै जिल्लामा अहिले परिसर प्रमुखका रूपमा एसपी कार्यरत छन् । प्रस्ताव कार्यान्वयन भए परिसर प्रमुखका रूपमा रहेका अहिलेका एसपीलाई भने हटाइनेछैन ।
प्रधान कार्यालयको प्रस्ताव कार्यान्वयन गर्न अर्थ मन्त्रालयले बजेट पास गर्नुपर्ने हुन्छ । यसका लागि गृहले पहल गर्नुपर्छ । गृह स्रोतले प्रधान कार्यालयको प्रस्ताव मन्त्रालयमा आइसकेको जानकारी दिँदै अर्थसम्म भने पुगिनसकेको बताएको छ । गृह प्रवक्ता शङ्कर कोइराला यस विषयमा आफू अनभिज्ञ रहेको बताउँछन् । प्रवक्ता कोइरालाले सौर्यसँग भने, ‘यसबारे मलाई केही जानकारी छैन ।’
यसअघि नै पाँचवटै विकास क्षेत्रका तालिम केन्द्रमा एसएसपीको नयाँ दरबन्दी थपको मागपत्र प्रधान कार्यालयले मन्त्रालयमा पेस गरिसकेको छ । पूर्वाञ्चल क्षेत्रीय तालिम केन्द्र विराटनगर, मध्यमाञ्चल तालिम केन्द्र भरतपुर, पश्चिमाञ्चल तालिम केन्द्र बुटवल, मध्यपश्चिमाञ्चल तालिम केन्द्र नेपालगन्ज र सुदूरपश्चिमाञ्चल तालिम केन्द्र दिपायलमा प्रमुखका रूपमा एसएसपी रहने प्रस्ताव गरिएको छ । गृह स्रोतका अनुसार प्रधान कार्यालयको मागपत्र बजेट पास गर्नका लागि अर्थ मन्त्रालय पुगिसकेको छ ।
प्रधान कार्यालय स्रोतले नयाँ दरबन्दी थप गरिने आठमध्ये पाँच स्थानमा एसपीको बढुवा गरिनेछ । वरिष्ठताका आधारमा बढुवा गरिए क्रमशः मिलन बस्नेत, भोगबहादुर थापा, पुष्कर बस्नेत, रमेश खरेल र सर्वेन्द्र खनाल एसएसपी हुनेछन् । तीन स्थानमा भने साविक रहेका एसएसपीलाई नै स्थानान्तरण गरिनेछ । प्रहरीमा अहिले ३७ एसएसपीको दरबन्दी छ । नयाँ दरबन्दी स्वीकृत भए एसएसपीको सङ्ख्या ४५ पुग्नेछ ।

प्रतिक्रिया