प्रधानमन्त्रीको निर्देशन सचिवहरूद्वारा बेवास्ता

काठमाडौँ, २४ फागुन । प्रधानमन्त्री डा बाबुराम भट्टराईले २४ घन्टाभित्र ‘अन्धविश्वास कम गराउन नीतिगत अवधारणा बनाउन’ सचिवहरूलाई दिएको निर्देशनको दुई सातामा पनि कुनै प्रगति भएको छैन ।
अन्धविश्वास र कुरीतिले महिला हिंसा बढाएको निष्कर्ष निकाल्दै प्रधानमन्त्रीले त्यसलाई कम गर्न ‘धामी–झाँक्री बस्नै नपाउने’ गरी नीति बनाई २४ घन्टाभित्र प्रधानमन्त्री कार्यालयमा बुझाउन सबै मन्त्रालयका सचिवलाई दिएको ‘निर्देशन’ निर्देशनमै सीमित भएको हो । यही ११ फागुन सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सबै मन्त्रालयका सचिवसँग आकस्मिक बैठक बसी उनले यस्तो निर्देशन दिएका थिए ।
प्रधानमन्त्री कार्यालयका सचिव त्रिलोचन भट्टराईले प्रधानमन्त्रीको निर्देशनअनुसार कुनै काम हुन नसकेको बताए । ‘प्रधानमन्त्रीले कडिकडाउ निर्देशन दिनुभएको हो,’ सचिव भट्टराईले सौर्यसँग भने, ‘नीति बनाउनुपर्ने हो तर यसबारे केही पनि प्रगति भएको छैन ।’
उनका अनुसार कुनै पनि मन्त्रालयका सचिवले नीतिगत अवधारणा अझै बुझाएका छैनन् । नीति बनाइसकेपछि जिल्ला प्रशासन, प्रहरी र गाविसलाई परिपत्र गर्नुपर्ने हो । कानुन कहिले बन्छ भन्ने कुनै टुङ्गो छैन ।
कानुन पालना नभएको र परम्परावादी सोचका कारण महिलाको बाँच्ने अधिकार गुमेको अवस्थामा यसको नियन्त्रणका लागि कुनै नयाँ व्यवस्था नल्याएको भन्दै सरोकारवालाले सरकारको आलोचना गरेपछि प्रधानमन्त्रीले सचिवहरूलाई ‘२४ घन्टे’ निर्देशन दिएका थिए । निर्देशनका क्रममा ‘महिलामाथि हुने हिंसा कसरी अन्त्य गर्ने’ भन्ने विषयमा प्रधानमन्त्रीले सशस्त्रका निलम्बित डिआइजी रञ्जन कोइरालाले श्रीमती गीता ढकालको हत्या गरेको र बोक्सीको आरोपमा चितवनमा ढेगनीदेवी महतोको हत्या भएको घटनाको प्रसङ्ग सुनाउँदै त्यसप्रति आफू गम्भीर रहेको बताएका थिए ।
बैठकमा कार्यान्वयन तहमा महिला कम भएका कारण पीडित महिलाले न्याय पाउन कठिनाइ भएको भन्ने विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया