३४ हजार पशुको कृत्रिम गर्भाधान

दमौली । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले आर्थिक वर्ष ०७५/७६ मा ३४ हजार पशुको कृत्रिम गर्भाधान गरेको छ । तनहँु र नवलपुर जिल्लाका १४ कृत्रिम गर्भाधान केन्द्रबाट ३४ हजार छ पशुको कृत्रिम गर्भाधान गरिएको विज्ञ केन्द्र तनहुँले जनाएको छ । यसअवधिमा २६ हजार ७१२ गाई, सात हजार २३७ भैँसी र ५७ बाख्रामा कृत्रिम गर्भाधान गरिएको विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार गाईमा ६० प्रतिशत र भैँसीमा ५२ प्रतिशत गर्भाधान गरिएको छ । तनहुँमा सात हजार ५ सय ९५ र नवलपुरमा २६ हजार ४११ पशुको कृत्रिम गर्भाधान गरिएको छ । तनहुँमा आठ र नवलपुरमा छ केन्द्रबाट पशुमा कृत्रिम गर्भाधान गरिएको विज्ञ केन्द्रका प्रमुख डा श्रेष्ठले बताए । तनहुँको व्यास नगरपालिकामा एक हजार ८३१, भानु नगरपालिकामा ९८४, शुक्लागण्डकी नगरपालिका ८७१, बन्दीपुर गाउँपालिकामा ३९३, आँबुखैरेनी गाउँपालिकामा दुई हजार ६२१, म्याग्दे गाउँपालिकामा ५७५ र देवघाट गाउँपालिकामा ३२० पशुको कृत्रिम गर्भाधान गरिएको छ ।

नवलपुरको गैँडाकोट नगरपालिकामा १२ हजार ५५४, देवचुली नगरपालिकामा दुई हजार ७०४, कावासोती नगरपालिकामा दुई हजार ६१९, मध्यविन्दु नगरपालिकामा तीन हजार ३१६, विनयी त्रिवेणी गाउँपालिकामा दुई हजार ६०५ र हुप्सेकोट गाउँपालिकामा दुई हजार ५५७ पशुको कृत्रिम गर्भाधान गरिएको छ ।

सरकारले नश्ल सुधार कार्यक्रमलाई राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्दै आएको छ । पशुमा कृत्रिम गर्भाधान गराएमा कम उत्पादनशील स्थानीय पशुको उत्पादकत्व वृद्धि हुने, प्रजननका लागि भाले जनावर पाल्नु नपर्ने, हाडनाता प्रजननबाट उत्पादकत्वमा हुने ह्रास नहुने र प्रजननको माध्यमबाट सर्ने विभिन्न रोगबाट पशुको बचावट गर्न सकिने डा श्रेष्ठले बताए ।

कृत्रिम गर्भाधान गरेको तीन वर्ष्भित्रै पशुले आफ्नो उत्पादकत्व दिन सक्नेछन् भने जिल्लामा उत्पादन हुने दूधलगायत दुग्धजन्य वस्तुको उत्पादनमा वृद्धि भई बाहिरी जिल्लाबाट उन्नत पशुहरू आयात गर्नपर्दैैन । नेपालमा पालिएका दुधालु गाईको नश्ल सुधारका लागि सरकारले कृत्रिम गर्भाधानमा प्राथमिकता दिँदै आएको छ ।

कार्यालयले एक वर्षको अवधिमा १२ हजार ८५३ पशुको उपचार गरेको छ । जसमध्ये आठ हजार १४४ पशुलाई चिकित्सा उपचार, दुई हजार ८९१ पशुलाई जटिल शल्यक्रिया, ४३ पशुलाई सामान्य शल्यक्रिया सेवा प्रदान गरिएको छ । व्यास नगरपालिका र राष्ट्रिय पशु प्रजनन् कार्यालयको समन्वयमा ५७ वटा पशुमा बाँझोपन निवारण, स्थानीय तहसँगको समन्वयमा सात हजार १२९ पशुपक्षीलाई उपचार सेवा प्रवाह गरिएको केन्द्रेले जनाएको छ ।

प्रतिक्रिया