पूर्वकप्तान मिसबाह

एजेन्सी, इस्लामावाद । पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान मिसबाह उल हक दोहोरो भूमिकामा देखिने भएका छन् । पाकिस्तान क्रिकेट बोर्ड पिसिबीले अपनाएको नयाँ मोडलअनुसार पूर्वकप्तान मिसबाह उल हक प्रशिक्षक र खेलाडी छनोट समितिका संयोजक दुवै भूमिकामा देखिने भएका हुन् ।

उनलाई पिसिबीले तत्कालका लागि २२ अगस्टदेखि सेप्टेम्बरसम्म चल्ने अभ्यास सत्रका लागि ‘क्याम्प कमान्डेन्ट’ नियुक्त गरेको छ । उनले नै अभ्यासका लागि खेलाडी चयन गरेका छन् भने उनीहरूलाई प्रशिक्षण पनि दिनेछन् । पिसिबीका अन्तर्राष्ट्रिय क्रिकेट निर्देशक जाकिर खानले बोर्डमा सिनियर टिम चयनका लागि बनाउने समिति तीनथरी मोडेलको रहेको र त्यसमा छलफल भइरहेको बताएका थिए ।

पहिलो मोडेल भनेको छनोट समितिको संयोजक र अरू तीन चारजना सदस्य राखेर काम गर्ने । दोस्रो मोडेल भनेको एकजना संयोजक र पाकिस्तानका ६ वटा राज्यस्तरीय टिमका मुख्य प्रशिक्षकलाई सदस्य बनाएर खेलाडी छनोट गर्ने रहेको छ । तेस्रो मोडेल भनेको एक जना व्यक्तिलाई छान्ने र त्यसैले मुख्य प्रशिक्षक र खेलाडी छनोट समितिको संयोजक बनाउने ।

पिसिबी स्रोतका अनुसार अहिले त्यहाँ तेस्रो मोडेलअनुसार मिसबाह उल हकलाई यो जिम्मेवारी दिएको छ । हालै इंग्ल्यान्ड विश्वकपको समूह चरणबाटै पाकिस्तान आउट भएपछि मुख्य प्रशिक्षक मिकी आर्थर, बलिङ प्रशिक्षक अजहर महमूद र ब्याटिङ प्रशिक्षक ग्रान्ट फ्लावरको कार्यकाल विस्तार नगर्ने पिसिबीले प्रस्ट पारेको थियो ।

प्रतिक्रिया