अहमेदका ‘२९’ चित्र

काठमाडौं । भारतीय कलाकार सारफुद्दिन अहमेदको कला प्रदर्शनी हुने भएको छ । बिके आर्ट ग्यालरीको आयोजनामा बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हुने चार दिने प्रदर्शनीमा कलाकार अहमेदले नेपाल र भारतका सांस्कृतिक विषयमा केन्द्रित रहेका कला राख्ने बताए ।

उनले क्यानभासमा हिनहिनाइरहेका घोडासँगै काठमाडौं उपत्यकाका मठ–मन्दिर तथा हिमाललाई कलात्मक रुपमा उधिनेका छन् । ‘२९’ शीर्षकमा आइतबारदेखि हुने उक्त प्रदर्शनीमा २९ वटा चित्र राखिने अहमेदले जानकारी दिए । उनले भने, ‘नेपाल र भारतबीचको सदियौँदेखिको सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई चित्रमार्फत देखाउने कोसिस गरेको हुँ । मैले चित्रमा सांस्कृतिक तथा मानवीय विषयलाई उठाउने प्रयत्न गरेको छु ।’

नेपालको संस्कृतिले आफू निकै प्रभावित भएको सुनाउँदै कलाकार अहमेदले भने, ‘यहाँको सांस्कृतिक परम्परा र समाजले म निकै प्रभावित भएको छु । तिनै संस्कृति र समाजका विषयलाई क्यानभासमा उतार्दै दुई देशबीचको सम्बन्धलाई बलियो बनाउने कोसिस मेरो रहेको छ ।’ उनले नेपालको संस्कृति र प्रकृति निकै सुन्दर रहेको बताए ।

आयोजक बिके आर्ट ग्यालरीका संयोजक नरबहादुर बिकेले कलामार्फत सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउने लक्ष्य राखेर प्रदर्शनी गरिएको बताए । उनले भने, ‘नेपाली कला र कलाकारलाई बाहिर र बाहिरका कला र कलाकारलाई नेपालमा ल्याई सांस्कृतिक सम्बन्धसँगै कलाको सम्बन्ध बिस्तार गर्ने लक्ष्य राखेर प्रदर्शनी गरिएको हो ।’ नेपाली कला विकासका लागि कलाका गतिविधि देश विदेश भइरहनुपर्ने बताउँदै कलाकारसमेत रहेका बिकेले ‘एक्सचेन्ज प्रोग्राम’ मार्फत कलाका अन्तर्राष्ट्रिय शैली र सीप जानिने बताए ।

प्रतिक्रिया