आपतकालीन अवतरण गर्दा बिमान दुर्घटना, चालक दल दुईको मृत्यु

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।

साइबेरियाको निझनियनगास्र्क विमानस्थलमा आपतकालीन अवतरण गर्नेक्रममा बिमान दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् । एएन–२४ कलसाइन रहेको उक्त विमान उलान–उडबाट आएको थियो । उक्त बिमान धावनमार्गबाट करिब १०० मिटर टाढा उछिट्टिएको थियो ।

आपतकालीन अवतरण गरेको बिमानले धावनमार्ग नजिकैको फोहोर प्रशोधन केन्द्रको भवनमा ठक्कर दिएको थियो । बिमानका चालक दलका दुबै सदस्यको मृत्यु भए पनि बिमानमा सवार सबै ४३ जना यात्रु सकुशल रहेको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त बिमानमा तत्कालै आगलागी पनि भएको थियो । रुसी उड्डयन प्राधिकरणले दुर्घटनाको बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया