महिला फुटबल प्रतियोगिताको उपाधि विराटनगरलाई

काठमाडौँ । पहिलो संस्करणको उपमेयर कप अन्तरगत नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले हात पारेको छ ।

हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा आज भएको फाइनल खेलमा विराटनगरले बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–१ गोलअन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै विराटनगरले रु पाँच लाख हात पार्दा उपविजेतामा चित्त बुझाएको बाह्रबिसेले रु तीन लाख प्राप्त गर्यो ।

खेलको निर्धारित समयसम्म १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । विराटनगरकको जीतमा रेखा पौडेल, इमा राई, विद्या राना र मनमाया लिम्बूले गोल गरे । यता बाह्रबिसेका लागि भने रुबिना पहरीले एक गोल गरिन् ।

त्यसअघि खेलको निर्धारित समयसम्म १–१ गोलको समाप्ती हुँदा विराटनगरका लागि जमुना मगरले गोल गरेकी थिइन् भने बाह्रबिसेका लागि सम्झना लावतीले गोल गरेकी थिइन् । प्रतियोगितामा विराटनगर महानगरपालिकाकी रेखा पौडेल सर्वोकृष्ट खेलाडी घोषित भइन् । उनले उपाधिसहित ट्रफी र रु २५ हजार हात पारिन् ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिपर विराटनगरकी कल्पना कार्की, डिफेण्डर बाह्रबिसेकी सरिता शेर्पा, मिडफिल्डर बाह्रबिसेकी रजनी श्रेष्ठ र स्ट्राइकर बाह्रबिसेकै पार्वती घले घोषित भए । उत्कृष्ट प्रशिक्षकको उपाधि भने विराटनगरका पारस चौधरीले पाए ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले जनही रु दश हजार प्राप्त गरे । अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला समितिद्वारा आयोजित उक्त प्रतियोगितामा विभिन्न १८ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया